यि हुन नेपालका केजरीवाल ! चित्रबहादुर केसीको घरभाडा बसाई अनुभव

दिल्लीमा काग्रेस र भाजपालाई साइजमा ल्याएर दिल्ली सरकारको नेतृत् वगर्न पुगेको आम आदमी पार्टीका केजरीवाल भारतीय मिडियाका लागि चर्चामा छन् । सवैभन्दा बढी चर्चा उनको जीवनशैलीकै छ । उनी साच्चिकै एक आम आदम अर्थात साधरण नागरिक भएर आफ्नो राजनीतिक भविष्य खोजिरहेका छन् । हामीले पनि यस्ता राजनीतिज्ञ खोज्ने प्रयत्न शुरु गरेका छौँ, जसले नेपाली राजनीतिमा आम आदमीकै छाप बनाएका छन् । राजनीतिक विचार फरक भएपनि केजरवाल र चित्रबहादुरको जीनशैली उस्तै–उस्तै लाग्छ । त्यस्तै मध्धे एक हुन जनमोर्चाका नेता चित्रबहादुर केसी । उनले काठमाडौंको डेरा जीवन र सार्वजनिक यातायातमा हिडदाका केही पाटाहरु खोलेका छन् ।

माननिय भएकै कारण मैले कोठा पाइन
बाको साथी भएर काठमाडौँ आएपछि त्यहिबेला म गल्कोटे राजाको घरमा भाँडा माझ्ने काममा बसेँ र त्यहिबाट मेरो काठमाडौँ बसाई सुरु भयो । पढाउने सर्त सहित मलाई भाडा माझ्ने काममा राखेको थियो तर पछि न मलाई पढ्न दिए न राम्रोसँग खान नै दिए । २०१५ सालतिरको कुरा हो, राजाको घरभित्रको अन्याय अत्याचार सहन नसकेर म विद्रोह गरेर निस्किएँ । त्यहाँबाट निस्किएपछि काठमाडौँमा पहिलो पटक पाँच रुपैँया तिरेर नक्सालमा कोठा भाडामा लिएँ । त्यो रेग्मी परिवारको घर थियो । धर्ममा विस्वास गर्ने भएकाले उहाँहरु अधिकांश समय तिर्थस्थल धाइरहनु हुन्थ्यो । त्यहि क्रममा उहाँहरु ६ महिना काशी जानेुभयो । मसँगैको राम भन्ने एउटा दाई हुनुहन्थ्यो, हामी असाध्यै मिल्ने, सँगै खाने, खेल्ने । कोठामा म र एउटा साथी बस्थ्यौँ । घरबेटी बा–आमा काशी जाने बेला भाडा रामुलाई दिनु भन्नुभएको थियो । तर हामी चार÷पाँच महिनासम्म पनि भाडा दिदैनथियौँ । बा–आमा काशीबाट आउने बेला भएपछि रामुदाई सबै भाडा रामुदाईलाई दिइसक्यौँ भन्नुनी ! फेरी मैले भनेको र तिमीहरुले भनेको कुरा मिल्नुपर्छ भन्थेँ, हामी भाडा नै तिर्दैनथियौँ । यो मेरो पहिलो डेरा बसाईको अनुभव हो, उहाँहरुसँग अहिलेपनि मेरो सम्वन्ध छ । त्यसपछि असन, दिल्लीबजार, कमल पोखरीहुँदै धेरै ठाउँमा कोठा सरेँ । धेरै घरबेटीहरु प्राय बिर्सेँ । पछि पूर्णकालिन राजनीतिमा भूमिगत भएपछि काठमाडौँमा डेरा बस्न छोडेँ । ठ्याक्कै संख्या त याद भएन तर काठमाडौँमा कम्तिमा पनि दुई दर्जन भन्दा बढि डेरा सरेँ । बहुदल आएपछि टेहबालमा एउटा कोठा लिएको थिएँ एक रातपनि नसुती एक महिनाको बहाल तिरेर छोडेँ । त्यसपछि यो घरमा १४ बर्षदेखि बस्दै आएको छु ।
काठमाडौँ डेरामा जे भोगेँ

२०२२ सालको कुरा हो । म कमलपोखरीमा बस्थेँ । मेरो घरबेटी नारायणहिटीको पुजारी थिए । बिहान, दिउँसोको उनको व्यवहार निकै हार्दिकता थियो, तर रातीचाँहि जाँड खाएर आउँथे–हाम्रो घरमा आएर बस्ने तिमीहरु को हो भनेर निहुँ खोज्थे । उनको श्रीमती चाँहि यीनले जाँड खाएर आएका छन्, तपाईहरुले अन्यथा नमान्दिनुहोला भन्थीन् तर उनी सधैँ त्यसरी आएर झगडा गर्थे । ८÷९ महिना बसेँपछि त्यहाँ बस्न परेन र कमलादीमा कोठा सरेँ । तर त्यहाँका घरबेटीसँग कहिल्यै सम्पर्क नै नहुने । म एक्लै बस्थेँ, एक समय म असाध्यै बिरामी परेँ । मलाई टाइफाइट भएछ र उठ्नै नसक्ने भएँ । त्यहिबेला मसँगै पढ्ने धादिङ्गको साथी विष्णु नेपाल घुम्दै आउँदा मेरो कोठामा पसेका रहेछन् । र मलाई त्यस्तो अवस्थामा भेट्टाएपछि उनले लगेर औषधी गराए । पछि उनकै सल्लाहमा त्यो कोठा पनि छोडेँ । त्यो कोठामा पनि तिन महिनामात्र बसेँ । त्यसपछि पनि कहिँ एक महिना, कहि एक बर्ष, ५ महिना यस्तै छोटो–छोटो समयमा कोठा सरिरहेँ । सबैभन्दा लामो समयसम्म एकै ठाउँमा बसेको भनेको यहिँ हो । यहाँ बसेको १४ बर्ष भयो । म यहाँ बसेपछि तिनवटा घरबेटी फेरियो तर म फेरिएको छैन ।
माननिय भएकै कारण कोठा पाइन

२०५६ सालमा सासंद भएर काठमाडौँ आएपछि कोठा खोज्दैजाँदा मैतीदेवी पीपलबोट नजिक एउटा कोठा फेला प¥यो । कोठा खाली रहेछ भाडामा दिने हो भनेको घरबेटीले दिने भन्यो । त्यसपछि भाडा के कति ? सुविधा, के कति पैसा तिर्नुपर्ने सबै कुरा भयो । हामीलाई कोठादिने पक्कापक्की भयो, मलाई पनि कोठा मन पर्यो । केहि दिनमै कोठा सर्ने कुरा गरेर फर्कन लागेको घरबेटीले तपाईको पेशा व्यवसाय के हो भनेर सोधेँ । मैले पनि गर्वका साथ बागलुङ्ग क्षेत्र नं २ बाट भर्खरै जितेर आएको सांसद हुँ भनेँ । त्यसपछि अध्यारोँ मुख लगाएर उनले भने ‘‘तपाई अप्ठेरो नमान्दिनु होला, मैले पञ्चायत कालमा पनि माननियहरुलाई डेरामा राखेँ, माननियको डेरा भन्यो, विभिन्न खालमा चुल्ठेमुन्द्रे आउने, जाँड रक्सी खाएर मात्तिने, पिटापिट गर्ने, कहिलेकाँहि त पुलिस नै आउने भयो । अरुलाई भए म आज डेरा दिन्थेँ तर तपाई माननिय पर्नु भएछ माफगर्नुहोला म डेरा दिन सक्दिन ।” त्यो कोठा पाइएन । पछि अहिले बसेको यहि कोठा भेटियो र अहिलेसम्म पनि बस्दैछु । म बसेपछि यो घरमा तिनवटा घरबेटी फेरिए तर म फेरिएको छैन । पहिलेका घरबेटी गुल्मीका थिए, ऋण लागेपछि गोरखाको आले मगरलाई बेचे तर उनलाइ पनि ऋण लागेपछि अहिले पूर्वका एकजनाले किनेका छन् । लामो समयदेखि लगातार बस्दै आएको भएरपनि होला अरुलाई भन्दा मलाई भाडा पनि निकै कम छ । तीनवटा कोठालाई यहाँ वरपर १४ हजारसम्म लिन्छन् तर मैलै छ हजारमात्र तिरिरहेको छु । सुरुमा १ हजारमा एउटामात्र कोठा लिएर बसेको थिएँ । पछि तीनवटै लिएपछि तीन हजार भयो, पछि भाडा बढाएर ४५ सय भयो र धेरै समयदेखि अहिले छ हजार तिरिरहेको छु ।

काठमाडौँमा घर बनाउने कम्युनिष्ट नेताबारे

सम्पत्ती नै कमाउने हो भने राजनीतिमा लाग्नु पर्दैन । मेरो बुझाईमा राजनीति भनेको समाजसेवा हो । राजनीतिबाट कमाउने प्रवृतीकै कारण राजनीति विग्रीएको हो । पुँजीवादी बाटो हिड्नेहरुको त सम्पत्ती कमाउने नै अन्तिम उदेश्य हुन्छ, उनीहरुलाई मेरो भन्नु केहि छैन । तर बामपन्थीको खोल ओडेर हिजो मसँगै हिड्दा तीन महिना खान नपुग्नेहरु अहिले दुइ करोडको गाडि र तीन चार करोडको घरमा बसेर उनीहरुले सिद्धान्त, राष्ट्र र जनताप्रति विस्वासघात गरेका छन् । यसले मलाई उनीहरु प्रति घृणा जाग्छ । कम्युनिष्टको नाममा पद प्रतिष्ठा र सिद्धान्त बेचेर उनीहरुले सम्पती कमाइरहेका छन् । पैसा कमाउने उदेश्य राख्नेहरुलाई त म घृणा गर्दिन तर आफुलाई सर्वहारा वर्गको नेता भन्ने तर व्यवहारमा पुरै पुँजीवादी रुपमा पैसा कमाउनेहरुलाई घृणा गर्छु । हाम्रा कम्युनिष्ट नेताहरु आफैँसँग लड्न सकिरहेका छैनन्, त्यस्ता नेता जनताका बैरीसँग लड्न सक्दैनन् । उनीहरुको क्रियाकलापले यहाँ कम्युनिष्ट आन्दोलन झनै बदनाम भएको छ ।

सार्वजनिक गाडिको यात्रा अनुभव

मसँग आफ्नै गाडि छैन । म अरुको प्राइभेट गाडि पनि चढ्दिन । यताउती जानुपर्दा सार्वजनिक यातायात नै प्रयोग गर्छु । पुरानो नेता भएकाले सार्वजनिक यातायातमा मलाई धेरैले चिन्छन् । गाडिमा चढ्दा कोहि बोल्दैनन् हेरिमात्र रहन्छन् तर धेरैले बोलाउँछन् । तपाईको आज गाडि के भयो र ? भनेर सोध्छन् । म अलि रमाइलो गर्ने भएकाले आज गाडि विग्रयो, आज डाइभर विरामी भयो भन्दिछु । केहिले त पत्याउँछन् तर धेरैले पत्याउँदैनन् । सार्वजनिक गाडिको यात्रामा प्रायजसो मेरो सानोतिनो कोणसभा नै हुन्छ । कोचाकोच भएपनि म उभ्भिनु पर्दैन । सबैले चिन्छन् अनि तपाई बुढो मान्छे भनेर सिट छोड्दिन्छन् । समसामयिक राजनीतिक कुराहरु गर्छन । अहिले के भइरहेको छ ? किन यस्तो भइरहेको छ भनेर सोध्छन् । सर्वसाधारणहरु सुरुमा हिड्नका लागि मात्र सार्वजनिक गाडिमा हिडेको हो की भन्थे तर अहिले वास्तविकता थाहा पाएका छन् । उनीहरु आफ्ना कुराहरु खुलेर राख्छन् र मैले पनि हार्दिकताका साथ जवाफ दिन्छु । धेरैले चासो राख्ने विषय भनेको संघियताको बिषय हो । उनीहरु मैले खुलेर संघियता विरुद्ध संसदमा बोलेको कुराको चर्चा गर्छन र समर्थन जनाउँछन् । शीर्ष नेताहरुको कार्यशैलीका बारेमा पनि जिज्ञासा राख्छन् । जे होस् अहिलेसम्म सार्वजनिक यातायातमा यात्रा गर्दा सार्वसाधारणसँगको कुरासुन्न पाएको छु र जनताका भावनालाई नजिकबाट बुझ्न पाएको छु । यहि कारणपनि म खुशी छु ।

डिपि शर्माको प्रस्तुति

– हेल्लो नेता

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु