बिहेको अफर कसैले गरेन के प्रब्लम छ ममा ?

१३ वर्षअघि हिरो नामक फिल्मबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रेखा थापा आफ्नै होम प्रोडक्सनबँट बनाइरहेको पछिल्लो फिल्म हिम्मतवालीसम्म आइपुग्दा निर्देशकसमेत भएकी छिन्।राउटेबस्ती पुगेर राउटेका चार बालबालिकालाई राजधानीको आनन्दकुटी स्कुलको नर्सरी, एलकेजी र २ जनालाई एक कक्षामा पढाइरहेकी रेखा कदम कदममा विवादमा परिरहेकी छिन्। निर्माता छवि ओझासँगको लिभिङ टुगेदर सम्बन्ध तोडी हाल एकल जीवनयापन गर्दै आएकी उनीसँग गरेको रोचक कुराकानी यहाँ प्रस्तुत छः


अरूको फिल्ममा देख्नै छोडियो नि?
अरूको फिल्ममा देख्नै छोडिएको त होइन, बेलाबेलामा बाहिरको फिल्म पनि गरिरहेको छु। तर कम भएको भने हो। केही समयपछि नै सविर श्रेष्ठको तथास्तुमा काम गर्दै छु। वास्तवमा अरूको फिल्म हिरो ओरेन्टेड हुन्छ। त्यसैले अफर आए पनि बाहिरको फिल्म थोरै मात्र गरिरहेको छु।
हिरोइनलाई केवल शो पिस मात्र बनाइनुहुन्न, हिरो ओरेन्टेड फिल्म बनाएर हिरोइनलाई फिलरमात्र बनाइनुहुन्न भन्ने मेरो मान्यता हो। त्यसैले बाहिरको फिल्म कम गरिरहेकी छु। अब पनि केवल हिरोको वरिपरि नाचेर फिल्म खेल्ने भन्ने कुरा हुँदैन।
बाहिरको फिल्मबाट अफर पनि आइरहेको छैन क्यारे है?
होइन, होइन अफर आइरहेको छ। तर हिरोइन ओरेन्टेड फिल्म खासै नबनेकाले मैले नगरिरहेको हो। बने पनि मलाई सुट नहोला। ४–५ वर्ष भइसक्यो, बुलन्द रोल नभएको फिल्म मैले नगरेको। त्यस्तो रोल भइहाल्यो भने पनि पोस्टरमा हिरोको फोटो यत्रो ठूलो राखेर हिरोइनको फोटो सानो राखिरहेको हुन्छ।
बरु अहिलेचाहिँ हिरोइनलाई सेन्ट्रल क्यारेक्टर बनाएको फिल्म आइरहेको छ, हिरोइनको सिंगल पोस्टर आइरहको छ। ती फिल्ममा म नभए पनि आफू नै भएको महसुस गरेकी छु।
अब व्यक्तिगत कुरा गरौं, रेखा अहिले सिंगल नै हो?
सिंगल नै हो नि, डबल हुने मन छ। खै कोही आउँदैन आउँदैनन्। कसैले हामी डबल होऊँ न पनि भन्दैनन्, गर्ने के?
सिंगल बस्दा कस्तो हुँदोरहेछ?
एकदमै रमाइलो। कसैको दबाब हुँदैन। एकल निर्णय गर्न पाइन्छ। डबल हुने बित्तिकै एकप्रकारको पाबन्दी हुन्छ। हरेक निर्णय गर्दा वा काम गर्दा अथोरिटी लिनुपर्छ। जे गरे पनि आफ्नो होइन, अर्काको खुसीका लागि गर्नुपर्छ। सिंगल रहेर वन म्यान आर्मी भएकी छु।
कप्पल हुने अफर त आए होला नि?
अनेस्टलीभन्दा मलाई कप्पल हुने अफर किन आउँदैन? ममा के कमी छ? के प्रब्लम छ? म आपैmंलाई अचम्म लागिरहेको छ। खै अरूलाई त ४० वर्षको उमेरसम्म पनि प्रेम गर्ने वा बिहे गर्ने अफर आइरहेको हुन्छ। मलाई त कसैले अफर नै गर्दैन जबकि एजको कुरा गर्ने हो भने मेरो त भर्खर बिहे गर्ने उमेर भएको छ।
सिंगल हुँदा समाजले हेर्ने दृष्टिकोण के पाउनुभयो?
अहिले जमाना र समाजमा परिवर्तन भइसकेको छ। आत्मनिर्भर भइसकेको, आफ्नै खुट्टामा उभिने महिलाप्रति सम्मानको भावना पाएँ। २०औं शताब्दीको एकल महिलालाई जस्तो समस्या अहिलेको महिलालाई छैन भन्ने महसुस गरेकी छु।
अब बिहे नै गर्नुपर्दैन त?
बिहे त गर्नुपर्छ नि? तर खोइ त? कसैले भन्न आउँदैनन्। साथीहरू सबैले बिहे गरिसके मलाई चाहिँ कोही नै माग्नै आउँदैनन्। रेजिनाहरूको बिहेको भोज खाएपछि मलाई पनि बिहे गर्न रहर लागिसक्यो। तर सन् २०१५ सम्म मेरो बिहे नै हुँदैन रे। जन्मेदेखि मेरो भाग्यमा २०१५ सम्मका लागि बिहेको लगन नै छैन रे।
कलाकारहरूको घरबार किन यसरी बिग्रिरहेको होला?
कलाकारहरूको मात्र होइन, आम मान्छेको घरबार पनि बिग्रेको छ। अरू पेसामा रहेकाहरूको दाम्पत्य जीवन पनि टुटेको छ। तर उनीहरूको दाम्पत्य जीवन वा घरबारबारे यसरी एक्सपोज हुँदैन। कलाकारको हरेक कुरा फोकस भएकाले मात्र देखिएको हो।
महिला कलाकार भएकै कारण दुव्र्यवहार सहनुपरेको छ?
आजसम्म त त्यस्तो दुव्र्यवहार सहनुपरेको छैन। नेपाली फिल्म क्षेत्रको इतिहास पल्टाउने हो भने धेरै महिला कलाकारले दुव्र्यवहार भोग्नुपरेको थियो। मेरो सवालमा चाहिँ म दुव्र्यवहार सहने खालको मान्छे पनि होइन। चाहे आर्थिक, मानसिक वा शारीरिक नै किन नहोस्। मलाई कुनै किसिमको आरोप पनि लाग्न पाएन। बरु खराब शब्द प्रयोग गर्दा पब्लिकसँग चाहिँ झगडा गरेको छु।
कस्तो व्यवहारबाट दिक्क लाग्छ?
अरूको राम्रो काम नस्विकार्ने, त्यस्तो कामको प्रशंसा नगर्ने तर चोकचोकमा बसेर कुरा काट्ने व्यवहार देखेर दिक्क मात्र लाग्दैन, रिस पनि उठ्छ। राम्रो कामको प्रशंसा नगर्नेलाई नराम्रो कामको कुरा काट्ने अधिकार पनि छैन।
तपाईंले जिम्मा लिनुभएको चार जना राउटे बालबालिकाको विषयलाई लिएर विवाद आयो नि?
कुनै पनि स्कुल वा होस्टलको आफ्नै सिस्टम हुन्छ। ती बच्चाहरूलाई मैले जिम्मेवारी लिएर आएको हुँ। स्कुल, होस्टलले ती बच्चा जन्माउनेलाई चिन्दैनन्, मलाई चिन्छन्। त्यसैले उनीहरूको गार्जेन भेट्न जाँदा पनि मेरो थ्रु जाने हो। तर उहाँ (राउटे) हरू नजानेर नबुझेर सीधै जानुभएकाले भेट्न पाउनुभएनछ। मैले पनि उनीहरूलाई यो दिन लगेर यो दिन ल्याउँछु भन्नुपर्छ। यी बच्चालाई मैले चोरेर, किनेर वा लुटेर ल्याएको होइन, त्यसैले गार्जेनलाई भेट्नै नदिने भन्ने कुरा हुँदैन।
राउटे बालबालिकाको रेखदेख नै गरिएन भन्ने कुरा पनि त आयो?
मैले उनीहरू सिभिलाइज होऊन्, मिक्स अप होऊन् भनेर होस्टलमा राखेको हुँ। नत्र भने घरमा २ मान्छे राखेर रेखदेख गरेको भए मैले थोरै पैसा तिरे पनि पुग्थ्यो। मैले वा रेखा थापा फाउन्डेसनले नियमित रेखदेख नगरे पनि आनन्दकुटी स्कुल र होस्टलले सबै कुरा गरिरहेको छ। सुटिङमा भएको र बिजी भएको बेलाबाहेक बच्चाहरू प्रायः शनिबार मसँगै हुन्छन्। उनीहरूले प्रस्ट नेपाली नजानिसकेकाले र होस्टेलमै रमाइरहेकाले स्कुलले पनि उनीहरू त्यहीं बसून् र सिकून् भन्ने चाहेको छ।
आफू निर्देशक बन्नका लागि तपाईंले हिम्मतवालीबाट श्याम भट्टराईलाई निकालिदिनुभयो है?
त्यस्तो होइन, मलाई निर्देशक बन्ने त्यस्तो चाहना थियो भने अघिल्लो फिल्म कालीबाटै बन्थें नि। मलाई आफ्नो फिल्मको निर्देशन आपैmं गर्न कसले रोक्थ्यो र? यही फिल्ममा पनि शुरूमै सीधै आपैmं डाइरेक्टर भएर आउँथे नि। उहाँलाई लिइराख्नै पर्दैनथ्यो नि? मलाई मेरो युनिटमा कामबाहेक अनावश्यक कुरामा अल्मलिने, अनुशासनमा नबस्ने कोही पनि मन पर्दैन। पुरै युनिटलाई अनुशासनमा राख्नुपर्ने उहाँ आपैmं अनुशासनमा नबसिदिएपछि बाध्य भएर मैले हस्तक्षेप गर्नुपर्यो।
हिम्मतवालीमा त नेपाल प्रहरीको नियमानुसार अनुमति नै नलिई प्रहरी बर्दी लगाइयो रे नि?
होइन, मैले नियमानुसार फिल्मको स्क्रिप्ट बुझाइसकेको छु। तर खासमा प्रहरीको सुटिङ नै भएको छैन। प्रहरीको पार्टको सुटिङ काठमाडौं नै गर्ने हो।
श्रोतः समाचारपत्र

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु