प्रवास – अञ्जान काइँला

PSX_20150226_150042यो प्रवासको कुरा हो
कलीलो बिहानले कोल्टे फेर्न नपाउदै
घामले बाक्लो निन्द्राबाट ब्यूँझिन नपाउदै
साहूको बिस्वास पात्रले
मलाई उस्को कार्य कक्षमा उभ्याएर
दिन फतक्कै गल्ने गरी,
मन गरुङ्गो हुने
क्रोधको भारी बोकायो ।

म सुमेरु पर्बत झै
डेग नचल्मलाई उभी रहे ।
महाराज धृतराष्ट्रका सामुन्ने
वृद्ध भिष्मले झै ।

उस्ले भुल्यो जिवनको कटु यथार्त
अक्षांशमा नमिलेको आफ्नै तस्वीर
र मलाई घोकायो
मैले हिँड्नु पर्ने रोबोट को गन्तव्य ।

उस्को आँखाले
एघार हजार भोल्टेजको करेण्ट
ह्वार ह्वार्ती ओकली रहेका छन
आवाज बौलाएको आकासले
बेसुरमा ड्रमसेट ठटाए झै छ ।
यस्तो लाग्छ
आमाले सानामा सुनाको
दन्त्य कथाको जिउदो खल पात्र हो ऊ ।

मन अमिलो हुन्छ
भासिन्छ टेकेको धर्ति
सम्झिन्छु यो धर्ती नै, बिरानो हो मेरो
ओथारा बसेको आकाश,
चुहिन नसकेको बादल
चुक उमालेको रात
पखला चलेको बतास
मेरै बिरुद्धमा जुलुस लगाउछन्
मेरै छातीलाई राजमार्ग बनाएर जान्छन्
म स्थिर निशब्द निस्तब्ध हुन्छु
मशान घाटमा पछारिएको ढुंगो झै दुरुस्त ।

उस्को मुख सिउँडिको उर्बर भूमी हो
धतुरो ले स्खलित हुने हिउँद हो
काउसोले सजाएको राजधानी हो ।
उस्को भाषा र उस्को बोली
गिद्धले बहिस्कार गरेको सिनो क्षेत्र हो
हात्तिबार कूहाउने सिम्सार हो
हरेक दिन कुकुरको नित्य कर्म गर्ने क्षेत्र हो
समग्रमा उस्को भाषा
उस्को सिङ्गो देस थन्क्याउने डम्पिङ साइड हो ।

उ सम्झिन्छ म उस्को भाषा बुझ्दिन
उ बिर्सिन्छ भावहरुको भाषा एउटै हुन्छ
त्यो पशुले नि बुझ्छ

ऊ, अब कारिन्दा हैन साहूकै लवज मा बोल्छ
मेरो निदाको पासपोर्ट को ठेगना पुनः चेत गराउछ/
नाकको नत्थीलाई अलिक जोडले कस्छ
र मैले पिउने पानीको कथा खोतल्छ,
पाइखानाको समय थाक लगाउदै
अरु कारीन्दालाई देखाउछ ,
मैले झ्याल बाहिर मुण्टो निकालेर
सास फेरेको हिसाब किताब खोज्छ
घामको रंग हेर्दा –
भरेको गाँस टुहुरो हुने सूचना टुडिखेलमा लगेर टाँस्छ
यसरि मेरो दायरा खुम्च्याउदै ल्याउछ
र मेरो छायाको
गोठालो राख्छ
ति गोठालोलाई मिठा मिठा ललिपप खुवाउछ र,
भन्छ मलाई-
तेरो छाया पनि किनेको छु मैले ।
म सहर्ष स्विकार गर्छु
देसले मलाई गरीबताको प्रमाण पत्र थामाएर
कवाडिको भाउमा पनि र्‍याल चुहाउदै
त्रीभुबन अन्तराष्ट्रीय बिमान स्थलबाट हुत्याउदै घचेटेको ।

म तर्सेको आफ्नै छायालाई
थप्थापाउछु, सम्झाउछु
उ जसोतसो मेरै आडमा उभिएको हुन्छ
धन्न छाया बोक्ने मन,
भूमध्य रेखा मुनी भासिदैन
हुचिलको हू हू सँग मिसिदैन
शिषिरको ब तास सँग गासिदैन
साकुराको हाँगामा झुण्डिदैन
मरुभूमिको तापले जलाउदैन
र छाया म सगै रन्छ ।

म चुपचाप चुपचाप चुपचाप
आफैलाई जलाउने क्रोधको भारि बोकि रहे
पुनः मेरो कलिलो बिहान निकै भारी बन्यो
पुनः दिन कालो बादलमा गुजुल्टी रहयो ।
पुन: बिरालो घर भित्र शेर बनि रहयो

हाल:-दक्षिण कोरिया

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु