बरु मलाई केही हात जमिन देउ भाइ।-फर्वान रायमाझी

phurban

गाउँको पुर्ख्यौली सम्पत्ती बेचेर
शहर ताकेपछि मलाई
सधै लाग्थ्यो-गल्ती गरे।
यसपाला त घर न घाटको भए
न शहर रहयो-शहरमा
न रहर रहयो-शहरमा
केही बँचेका बाँच्ने आशाहरु
याद गर्दैछन बेचेको सम्पत्तिको।
सडकपेटीको पालको छाप्रोबाट
भत्केको घरका भग्नाबशेष कुर्दा
सुख टिपेको कसरी रहर गर्नु?
प्राण भन्दा -सुख प्यारो हुन्न।
ज्यानभन्दा-सुबिधा प्यारो लागेन।
गाउँभन्दा-शहर प्यारो लागेन।
तसर्थ म सबथोक बिर्सेर आउँछु।
बरु मलाई केही हात जमिन देउ भाइ।

मोह थियो,अग्लो घरको-भयो,गुम्यो।
सोख,आलिसन बंगालको-थियो,हरायो।
शहरमा सुखको भ्रम-भोगियो,देखियो।
सोख सुख र मोहको भ्रम छाडेपछी
बरु आनन्दित हुन्छु झै लाग्छ।
तसर्थ सपनाहरु जीवन सोच्दैछन।
सपनाहरु दुईपाखे छाप्रो खोज्दैछ्न।
सपना साचेर छाप्रोभित्रै रमाउँदा
मलाई म जिबित जस्तै लाग्नेछ।
आखिर बर्बाद भएपछि
सबथोक गुमाएर बास खोज्दै भौतारिदा
आज मलाई ओतभन्दा-नोट प्यारो लागेन।
जीबनभन्दा- शहरको सुख जाती लागेन।
तसर्थ म गाउँ फर्किन्छु।
बरु मलाई केही हात जमिन देउ भाइ।

हामी छुट्टिदा खेतका फाँटहरु
बारीका ठुला गर्‍हाहरु
बासघारी,सल्लोबन र खरबारी
झगडै गरेर तिमीसँग
सप्पै मेरै भागमा पारेर बेचे
तिमी साघुरा फोक्टाहरुमा मन बुझायौ।
तरपनी केही गुनासो पोखेनौ
बरु म शहर पस्दा खुशी भएनौ।
अहिले फाँटको एकतले घर
आनन्दको निदमा सपनिदै होला।
खरबारीको खर जुर्मुराउदै होला।
सल्लो र बाँस कस्तो मजबुद हुदो हो?
मलाई कम्ता पछुतो लाग्या छ भाइ।
न शहरमा छ,न गाउँमा रहयो।
तैपनी पाती र उन्युको घर बनाउछु
बरु मलाई केही हात जमिन देउ भाइ।

ओत लागेर जिन्दगीलाई
जीबनमरणका कथा सुनौला।
आखिर मरेर लानु के नै पो रैछ
एक छाक सुखदुःख खाउला।
आज जीवन बाच्यो र पो भन्दैछु
मलाई माफ गरिदेउ भाइ
पुर्ख्यौली बेचेर गाउँ छाडेपछि
पश्चातापमा जलिरहेको दाजु
न मर्न सक्यो,न बाचेर बाचेझै भो
तसर्थ मलाई भत्केको घर जोड्न देउ
बरु मलाई केही हात जमिन देउ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु