कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



ओ स्कुटीवाली !

545321460kaka-3-1-jpg“ओ स्कुटीवाली ! च्वाँक भएर कता ? डेटिङमा हो कि, अफिस या कतै मिटिङमा ?,” युवकले आरवान फाइभ मोटरसाइकल युवतीको स्कुटी भएतिर ढेप्यो र एकोहोरो हर्न बजाइरह्यो ।
टाटेपांग्रे पाइन्ट । गर्धन छोपिएको कपाल । हातका औँलाभन्दा बढी औँठी । रातो वर्णको । मैले देखेको युवकको हुलिया यत्ति हो । क्वारक्वार्ती हेर्यो युवतीलाई– मिल्ने भए आँखैले देह सुख भोग गर्थेँझैं गरी !
भदौको महिना । सिमसिम पानी परिरहेको थियो । युवतीले हर्नको कर्कश आवाज र अकारण जिस्क्याउन बाटो बथानेको त्यस युवकलाई वास्तै गरिनन् । बरु, स्कुटीको गति बढाइन् र केही अगाडि पुगिन् ।
“यति राम्री मैयाँलाई देखेपछि दिल कहाँ मान्छ र ! हाम्रो पनि त मनै हो नि कान्छी !” युवकले यसै भन्यो, पछ्याउन छोड्दै छोडेन ।
र, पनि युवतीले ‘बाल’ दिइनन् ।
युवक कहिले हर्नतिर हात पुर्याउँथ्यो, कहिले ब्रेक दबाउँदै एकोहोरो एक्सिलेरेटर बटारिहन्थ्यो ।
सर्भिसिङ गर्ने बेला भएको थियो या इन्जिन नै चट् हुन लागेको थियो, मोटरसाइकलले मुस्लो धुवाँ फालिरहेको थियो, पुरानो ट्रकले उकालोमा धुवाँ छोडेजस्तो ! वातावरण नै धूमिल बनाएको थियो त्यसले ।
त्यस्तै एक किलोमिटर पछ्याएपछि युवक र युवती पुनः नजिक भए । अतिशय रिस उठेछ क्यारे, युवतीले स्कुटी बीच बाटामै रोकेर भलिभाँती गाली गरिन्, “मुर्दार् ! आवारा ! काम छैन ? बाटा–बाटामा केटी जिस्क्याउँदै हिड्ने गुण्डा ! चोर ! डाँका ! तैंले के सोचेको छस्, पुलिसकहाँ पुर्‍याइदिउँ !”
उनले मुखमा आएजति गाली गरिन् ।
“आरवान फाइभ चढें भन्दैमा बडो सान पो दिँदोरहेछ,” युवती रोकिएकी थिइनन् ।
युवतीले झाँको झारेपछि युवक पालुंगो ओइलाएजसरी लल्याकलुलुक भयो र एक्सिलेरेटर आफूतिर बाटार्दै कुलेलम ठोक्यो ।
क्षणभरमै अलप भयो युवक ।
दुई वर्षअगाडिको घटना थियो यो । मूलपानीबाट रत्नपार्क जाँदा आफैंले यो दृष्य देखेको थिएँ ।
० ० ०
भर नभएको सहर हो काठमाडौं । कता पानी दर्किरहेको हुन्छ, कता घाम चर्किरहेको हुन्छ, कुनै टुंगो हुँदैन । मानिसको मन भन्दा छिटो बदलिन्छ यहाँको मौसम ।
पानी पर्नै हुँदैन, सडक आहाल हुन्छ, फेवातालै बन्छ । तीनकुने, पुतलीसडक, जमल, चाबहिलतिर रहर भएकाहरू जल सयरमा निस्किए हुन्छ । डुंगामा किलोमिटर दूरी पार गर्न पुग्ने पोखरी तयार हुन्छ ।
कसैकसैले सडकमा जमेको पोखरी देखाउँदै ठट्टा गर्छन्– देख्यौ, त्यसै भन्या हो र पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालले राष्ट्रिय झण्डावाला पानी जहाज किन्नुपर्छ भनेर, यहीँ दौडाउन हो यी !
पहिले–पहिले हास्यकलाकार दीपकराज गिरी व्यंग्य गर्थे– नेपालका सडकमा खाल्डाखुल्डी छैनन् । बरु, खाल्डाखुल्डीका बीचमा चाहिँ सडक छन् ।
पिच भत्किएर बनेका खाल्डा र वर्षात्मा त्यहीँ भरिएको पानी ! कतिबेला कहाँ दुर्घटनामा परिन्छ, पत्तै हुँदैन । स्कुटीवालीहरू त नपछारिएको दिनै हुँदैन भन्दा हुन्छ । मोटरसाइलवालाहरू पनि ओभानै घर पुगे भने नेपालकै भाग्यमानी तिनै हुन् ।
फेरि यहाँको सडक विभाग, टेलिकम र उपत्यका खानेपानी लिमिटेडबीच कहिल्यै कुरा मिल्दो रहेनछ । कस्तो शत्रुवत् सम्बन्ध !
अघिल्लो दिन सडक विभागले बाटोमा अलकत्र बिछ्याउँछ (पिच भन्ने कि नभन्ने), भोलिपल्ट बिहानै आएर खानेपानीले भत्काउन थालेको हुन्छ । के रिस रहेछ कुन्नि ! त्यसको पर्सीपल्ट टेलिकमले अप्टिकल फाइबर हाल्नुपर्‍यो भनेर बाटो खनिरहेको हुन्छ । कहिल्यै सुविस्ताले हिँड्न दिँदैनन् ।
सडक विभागको कार्यशैली देखेर भनेचाहिँ कहिलेकाहीँ त दया नै लाग्छ । बिचरा ! झमझम झरी पनि नभनी तिनै खाल्डाखुल्डी टाल्न अतकत्र ओइर्‍याइरहेका हुन्छन् ।
करिब दुई महिनाअगाडिको कुरा हो, गते ठ्याक्कै याद भएन । करिब आठ बजेको हुँदो हो । मित्रपार्कबाट चाबहिल जाने क्रममा हरियो माइक्रोले एउटा स्कुटीलाई निरन्तर पेलिरह्यो । तिनलाई टेलिकमको कार्यालयबाट अघि बढेपछि माइक्रोले हानुँलाझैं गरी लखेट्यो । माइक्रोमा खासै यात्रु थिएनन् । कहिले स्कुटी नजिक लगेर गाडी रोक्ने त कहिले अनावश्यक हर्न बजाउने गरेर वाक्कै बनाइरहेको थियो ।
सडकमा फाट्टफुट्ट सवारी । अदृष्य भइसकेका ट्राफिक । पानी उस्तै दर्किरहेको थियो । एकसरो रेनकोटले के ओत्नु ? स्कुटीमा अन्दाजी ३० वर्षकी महिला झरी छिचोल्दै जसोतसो अघि बढिरहेकी थिइन् । पशुपति क्याम्पस छिर्ने गौंडाबाट अगाडि बढेपछि हरियो माइक्रोले गती अझै बढायो ।
दश–एघार वर्षका जस्ता देखिने सहचालक महिलालाई इसारा गर्दै सिठ्ठी मारिरहेका थिए, त्यतिकैमा चालकले तीव्र गतीमा माइक्रो हुइँक्याए । नजिकै पानी जमेको दह थियो । माइक्रोले उछिट्याएको पानीले ती महिलालाई मात्र होइन, केही दूरीमा मोटरसाइकल चलाइरहेको मलाई समेत निथ्रुक्कै भिजायो ।
“मर्यो ! खा..!”
महिला गाली गर्दै थिइन्, तर तिनको आवाजलाई पनि त्यही झरीले निमोठ्यो । माइक्रो चालक सुन्दै नसुनी बेपत्ता भयो ।
० ० ०
केही दिनअघिको घटना हो यो । पानी परेर भर्खर रोकिएको थियो । शनिबारको दिन भएकाले कार्यालय समय सकाएर म पुतलीसडकतर्फ गइरहेको थिएँ । त्यहाँ निजी नम्बर प्लेटको एउटा मारुती भ्यानले स्कुटीवालीलाई पछ्याइरहेको देखेँ ।
चिनेकै मान्छे होलान् भनेर ध्यान आफ्नै मोटरसाइकलतिर केन्द्रित गरिरहेको थिएँ ।
अचानक युवती नालीमा स्कुटीसहित ढुन्मुनिन पुगेपछि पो थाहा भयो, मारुती भ्यानले स्कुटीवालीलाई दयामाया नराखी पेलेछ !
उनले स्कुटी उठाउन भ्याउँदा नभ्याउँदै त्यो मारुती त्यहाँबाट अदृष्य भइसकेको थियो । धन्न चोटपटक लागेन !
स्कुटी स्टार्ट गर्दै युवतीले भनिन्– बाटामा स्कुटी देखेपछि आवाराहरूलाई के सनक चढ्छ कुन्नि, नपछारुन्जेल पेल्न छाड्दैनन् त, यस्ता समस्या त कति भोग्छौँ कति दाइ !
रुनु कि मसँग कुरा गर्नू ? बढो द्विविधामा थिइन् उनी ।
० ० ०
बाटामा स्कुटी चलाएको युवती देख्नै हुँदैन । मेडिकल साइन्सले यसलाई कुन रोग भन्छ कुन्नि, त्यही गम्भीर रोगबाट गुज्रिएका छन् केही सवारी चालकहरू ! केही माइक्रो तथा मिनिबसका सवारी चालकहरूको नजरमा त स्कुटीवालीहरू पर्नै हुँदैन ।
तिनीहरूमा एक्कासि केको भूत सवार भइहाल्छ कुन्नि, आफ्ना यौनविकृत कुण्ठाहरू सिठ्ठी मारेर, हर्न बजाएर होस् या बाटै बथानेर पोख्छन् । बाटो नछोड्ने, छोउलाझैं गरी सवारी रोक्ने त उनीहरूका सामान्य हर्कत नै हुन् । त्यति नगरुञ्जेल उनीहरूका कुण्ठा बिसर्जन नै हुँदैनन् ।
यसलाई यौन दुव्र्यवहारकै संज्ञा यसकारण दिइयो कि, बीच बाटोमा सवारी रोकेर हर्न बजाउने, दुर्घटना गराउने, जिस्क्याउने र सिठ्ठी मार्नुको योभन्दा अर्को उद्देश्य के हुन्छ ?
सहजै दपेट्न पाइने र जिस्क्याएरै आत्मरति पूरा गर्न पाइने हुनाले हुनुपर्छ, त्यस्ता चालकहरूको गिद्दे दृष्टिमा अधिकांश स्कुटीवाली नै पर्ने गर्छन् ।
यी र यस्ता घटनाहरू बारम्बार बाहिर नआएका होइनन्, तर सरोकारवालाको कानमा बतास लागे पो !
सडकमा दुर्घटना गराउने र दुर्घटना गराउन उद्दत रहने तथा सार्वजनिक स्थलमा दुव्र्यवहार गर्ने चालकहरूलाई ठिँगुरोमा हाल्न सके भोलिबाट सायदैले यो दुस्साहस गर्नेछन् ।
० ० ०
“बाबु ! छोरी स्कुटी किन्नुपरो भनेर मरिहत्ते गर्दैछे, दसैं आउन लाग्यो, कम्पनीहरूले छुटसुट देलान्, कुनचाहिँ राम्रो होला त ?,” एकाबिहानै मन्दिरमा कोइराला बाजेले भेट्नेबित्तिकै गुनासोसहित सुझाव मागे ।
भर्खर १२ सकेकी कान्छी छोरीले स्कुटी किन्नुपरो भनेर हत्तुहैरान बनाएपछि स्कुटी किन्ने मनशायले उनले मसँग सल्लाह मागेका रहेछन् ।
पढ्दै गरेकी छोरीको कुनै रोजगारी थिएन । त्यसो त उनको आवश्यकता पनि होइन स्कुटी । घरबाट १५–२० मिनेटको दूरीमा रहेको कलेज पुग्न स्कुटी नै किन चाहिन्थ्यो र !
“तर पनि छोरीले रहर गरिहाली, किन्दिउँ न त बाबु स्कुटी,” बाजेले नै यसो भनेपछि मैले किन बढी बोल्नू ?
तर पनि अन्तिममा भनेँ– चलाउन राम्रो जानेर र लाइसेन्स हात पारेपछि किन्दा राम्रो होला कि बाजे, अहिले नै हतार किन गरी हाल्नू !
उनी पर पुगेपछि ०६७ सालमा मित्रपार्कमा दुर्घटनामा दुवै खुट्टा गुमाएकी रशु शाक्यको भनाइ याद आयो– उमेरै नपुगी स्कुटीको रहर नगरेको भए मैले खुट्टा गुमाउनु पर्दैनथ्यो कि ! म त भन्छु, कलेज पढ्ने कुनै विद्यार्थीले पनि मोटरसाइकल र स्कुटर नचढुन् ।
पछिल्लो समय दुईपांग्रे सवारी मध्यम वर्गीय परिवारको अनिवार्य साधनजस्तै भइसकेको छ । उपत्यकामा मात्रै दिनहुँ चार लाखभन्दा बढी दुईपांग्रे सवारी गुड्छन् ।
ठूला गाडीका ड्राइभरले स्कुटी चलाउनेलाई साह्रै हेप्छन् भन्छन् भुक्तभोगीहरु । त्यसो त यो बुझ्न माथिका दृष्टान्त नै काफी छन् ।
ओभरटेक गर्दै गिज्याउने, स्कुटरअगाडि ल्याएर चर्को हर्न बजाउने र झ्याप्प ब्रेक हान्ने गर्दा दुर्घटनामा परिन्छ कि भयले गाँज्ने गरेको छ उनीहरूलाई ।
अर्को कुरा, स्कुटीको राम्रोसँग ब्रेक लाग्दैन । बै्रक हानेको अलि परमात्रै रोकिन्छ । चक्का सानो र ग्राउन्ड क्लियरेन्स कम हुने भएकाले खाल्डाखुल्डीमा इन्जिनले भुइँ नै छुन्छ । तत्काल गति सन्तुलनमा राख्न नसक्दा जतिबेलै पछारिने डर हुन्छ । सजिलै मोड्न नसकिनु पनि स्कुटीको अर्को समस्या हो ।
भर्खर प्लस टु पढ्दै गरेका ठिटाठिटीमा त स्कुटी चलाउने आत्मविश्वास पनि पर्याप्त हुँदैन । अर्को सवारीले पेल्नेबित्तिकै आत्तिएर कि हातखुट्टै छोडिदिने कि बेस्सरी एक्सिलेटर बटार्दा रहेछन् । त्यसैले पनि अरु सवारीले जिस्क्याउने र अनावश्यक दुःख दिँदा रहेछन् । यसले दुर्घटनाको जोखिम बढाउने नै भयो । यस्ता कुराप्रति सरोकारवालाको ध्यान कहिले जाने ? ट्राफिकको काम लेन मिचे/नमिचेको र ट्याक्सी मिटरमा चले/नचलेको हेर्नेमात्रै हो त ?
सडकमा खुलेआम दुव्र्यवहार गर्ने र दुर्घटना गराउन उद्दत रहने चालकलाई कारबाहीको दायरामा ल्याउन केले रोकेको छ ? कानुन छैन भने बनाउनु पर्‍यो, साना कुरा भनेर ध्यान नदिइएको हो भने दिनुपर्‍यो ।

baahrakhari.com बाट

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु