हराएकाे र भेटिएकाे घडी – फुर्वान रायमाझी

प्रसँग र खबर घडीको छ।
उबेला हजुरआमाले एउटा घडी भेट्याउनुभो।घडीको च्यान फुत्किएर कसैले खसालेको।घडीभित्र पानी पसेजस्तो देखियो।बा शहर गएर च्यान हाल्दिनुभो।अनि घडी मेरो हातमा सजियो।
कक्षा ६ को सानो केटो।एक घण्टाको उकालो बाटोपछिको स्कुल।घडी हेरेर हिड्न थालियो।१० मिनेटमा दौडिएर कहाँ पुगिन्छ भन्दै प्राक्टिकल गर्न थालियो।ठुलाठुला केटाहरु मसँग कति बज्यो भनेर सोध्न आउन थाले।स्कुलमा छंदा कति मिनेटपछी १ बज्छ,कति मिनेटपछी ४ बज्छ भनेर छिनछिनमा घडीमै आँखा पुग्थे।
घडी हातमा परेपछी सधै सुकिलो कमेज लगाउन मन लाग्थ्यो,घडी र कमेजको मेल खाओस भन्ने चाहना।हात खुब धुन्थे,सेता हातमा पहेलो च्यानसँगको घडी सुहाउँदो देखियोस भन्ने आशय।पछि त पाईन्ट पनि सफा।छालाका ड्याम जुत्ता लगाउन पाए हुन्थ्यो झै लाग्न थाल्यो।यो सब परिबर्तनको शुरुवात घडीबाट भएको थियो।घडीसँगको शान मेन्टेन गर्न उबेला बहुत कसरत गरियो।Phurban
मेरो हातमा घडी थियो तर पढ्न जानेका बिद्यार्थीहरु परिक्षा समयमै सकाएर निस्किन्थे म भने जहिले ढिला। त्यतिबेला सोच्थे परिक्षामा घडी बाँध्नुको ईज्जत गुम्यो।मलाई यहि ईज्जत गुमेजस्तो लाग्दा घडी बाँध्नुमा हिनताबोध हुन्थ्यो।कक्षामा गल्ती गर्दा,होमवर्क नगर्दा गुरुहरु लामा लौराले हत्केलामा ठटाउथें।त्यतिबेला पनि घडीप्रतीको घमण्ड चकनाचुर हुन्थ्यो जब म घडी जोगाउन फुकालेर झोलामा राखी सजाय भोग्न उभिन्थे।अघिपछी त घडी देखाएरै हिडियो।
घडी पाँच बर्ष खप्यो।खुब जतन गरिएछ।हजुरआमाले भेट्याएर दिएको त्यो घडी बिग्रेपछि बनाउदै बनाईएन।शहरमा अंकमा लेखिने,लाईट बोल्ने मिर्लिके घडीहरु सस्तो दाममा पाईन थाले अनि खुब फेसनमा आए यस्ता घडीहरु।म दोस्रोपटक त्यस्तै घडी किनेर बाँधे।धेरै खपेन।चार महिना नपुग्दै घडी चलेन।त्यसपछी आजसम्म हातमा घडी परेको छैन।घडीप्रती चासो पनि थपिएन।समयले मोबाईल थम्यायो।मोबाईलमा समय हेर्यो कुद्दयो जिन्दगी।घडीको खासै कुरो र चर्चा चलेको पनि थिएन।
केहि हप्ताअघि प्रचण्डको सम्पत्ति बिबरण सार्बजनिक भो।गरिब प्रधानमन्त्रीको सम्पत्ती बिबरणमा छुटाईएको हातको रोलेक्स घडीको खुब चर्चा भो।
फेरी यो साता ओखलढुंगाका सांसद रामहरी खतिवडाले पुर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको रोलेक्स घडी चोरेको खबर आयो(खतिवडाले आफुलाई फसाईएको जिकिर गरिरहेका छन)
सुन्दै नसुनेको यी दुई घडीको मुल्य सुनेर म छक्क परे।१४ लाख र १८ लाख,यस्तै यस्तै रे।घडीको मुल्यसँग मेरो हैसियत मापन गरें।तसर्थ पो त घडीको शान,ईज्जत र चर्चा खुब चुलिएर आईरहेको रहेछ शहरमा कहिले उपहार भएर त कहिले सांसदबाटै चोरिएर।

अनि त मलाई पनि मेरो घडीवाला समयको याद आयो।भेट्याएर मर्मत गरी बाँधेको घडीसँगको लेभल मेन्टन गर्न खुब कसरत गरेको बुबुरो म,यी घडीवालाहरु सम्झिन्छु।१४ लाखको घडी बाँध्नेले कति हजारको ज्याकेट लगाएसी आफुलाई सुहाएको महशुस गर्दो हो?१८ लाख नाडीमा बाँध्दा कति ग्रामका औठी औलामा घुसार्न मन लाग्दो हो?गाडी कुन चढ्दा हुन?मलाई जस्तै गतिला जुत्ता लगाउन मन लाग्दो हो यिनीहरुलाई,कुन ब्रान्डको जुत्ता लगाउँदा होलान।हुँदाहुदा यस्तो लाग्यो- हात टल्क्याउन कुन ब्राण्डको क्रीम प्रयोग गर्दा हुन?

हातमा घडी बाँधेर पनि परिक्षामा प्रश्नपत्र समयमै नसक्नुको हिनताबोधजस्तो आत्मग्लानी यी घडीवालाहरुलाई लाग्दो हो कि नलाग्दो?होमवर्क नगरेर लौरो खाएको सजाय भोग्दा घडीप्रतिको माया र आफुप्रतिको दिक्दारीका क्षणहरु यी घडीवालाहरुलाई कहिलेकाही आउदो हो कि नआउँदो?
म अझैपनी हरेक पहिरन मिल्दोजुल्दो खोज्छु।हरेक पटक जुत्ता किन्न खोज्दा पाईन्ट र ज्याकेट सम्झिन्छु।पाइन्ट,ज्याकेट र जुत्ताको मुल्य मिल्दोजुल्दो होस भन्ने रुचाउँछु।नत्र त पहिरनहरु भद्दा लाग्छन।कतै केहि नमिलेजस्तो।कतै जुत्ताले गिज्याएजस्तो।कतै केहि नसुहाएजस्तो।सायद कि म आफै गलत पो छु कि?

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु