कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



शुभयात्रा ! -फुर्बान रायमाझी

प्रेम भुलबस पनि हुन्छ।त्यहि प्रेममा निस्वार्थ समर्पित एउटा सपनाको यात्रा शुरु हुदैंछ।सपनाहरु पाईला चाल्दैछन।आकाशको बाटो हुँदै उड्न थालेका सपनाहरु शिखरमाथी कालो बादलभित्र दौडिरहदा अझै मुस्कुराउनेछन।गहिरा निला बिशाल समुन्द्रहरु नाघेपछि सागरजस्तै गहिरिन्छन प्यारा सपनाहरु।आखिर सपनाहरु यसरी पनि शुरुवात हुंदा रहेछन।त्यहि आशालाग्दा प्राप्तीका सपनाहरुलाई मान्छे जनतन जतनले बुन्दैछ शब्दहरुमा।उपहार स्वरुप केही शब्दहरु थुपार्छ।सम्झना स्वरुप केहि बाक्यहरु लेख्छ।स्वागत स्वरुप माला थप्छ शब्दहरुमा।शुभकामना र बधाई स्वरुप लेख्छ।थुप्रै मौनता तोडेर सपनाहरुको बगैंचामा चिच्याउने हिम्मत गर्छ।केही आशाहरु थपेर ती जहाज चढ्ने सपनाहरुलाई संसार जित्ने शुभकामना थम्याईदिने रहर गर्छ मान्छे।मनभित्रको मायालु अनुभुति अझै थपिन्छ,उर्लिन्छ अनि त उच्च सम्मानको प्रेममा चुक्दैन मान्छे।निरन्तर बगिरहेछ सपनाहरुको एउटा मान्छे, केही हुल यादहरु बोकेर।प्रिय सपनाहरु यात्रा गर्दैछन,लामो र टाढाको यात्रा।मान्छे त्यही सपनाहरु प्राप्तीको खुशी र सन्टुष्टिमा दिन गन्दागन्दै लेखिरहेछ-शुभयात्रा!
phurban
एउटा खुशी थपिएको छ,सपना कुम्ल्याएपछि।निस्वार्थ खुशी।प्रिय लागेका मान्छेहरुको सफलताहरुलाई सपना ठानेर आफ्ना आँखामा सजाउने मान्छेहरु पनि भेटिन्छन संसारमा।स्वार्थी संसारभित्र निस्वार्थ साटिएका सपनाहरु प्राप्तीको मार्गमा आउँछन अनि त जीवन आफ्नै लयमा फुरुङ्ग हुन्छ,एउटा सपना शब्दहरु बनेर गुन्जिरहनेछ।एक प्राप्तीको तरंग र उमङ्गले जीबनभरलाई पुग्ने मिठो संगीत भर्छ,अमरत्व दिन्छ।मान्छे बुरुक्क उफ्रिन्छ आफैभित्र त्यही सपनाहरुमा तरंगित संगीतका भावहरुमा।समयले बारम्बार प्राप्ती र अप्राप्तीका नमेटिने डोवहरुलाई जिन्दगीको झोलाभित्र छोपछाप पारेर राखेकै छ अनि त अझै प्यारो लाग्छन प्राप्तीहरु।खुशी अझै चुलिन्छ मनहरुमा।आफैभन्दा प्यारो लागेको समयले गहिरा यादहरुमा भेट्याउछ मन।आफुभित्रका पिडाहरु भाग्छन।अतीतको सम्झना झनै बढेर आउँछ।स्वयंम मान्छे त्यही मिठो सपनाहरुमा थपिन्छ जो लामो सम्झनाहरुपछी भेटिने तरखरमा टाढाको यात्रा गर्दैछ।त्यही यात्राहरुमा सुखद समयको कामना गर्दै मान्छे शब्दहरु जोरजाम गरेर चिच्याउछ-शुभयात्रा!शुभयात्रा!!
सपनाहरु बाँडिन्छन मान्छेहरुभित्र।सपनाहरु साटिन्छन पनि मान्छेहरुभित्रै।जिन्दगी आखिर सपना बाड्न र साट्नमै अल्झिएको छ।मिलनमा साटिएका सपनाहरु बिछोडमा पनि उत्तिकै प्यारा हुन्छन।बिश्वासमा साटिएका सपनाहरु धोकामा पनि उत्तिकै मिठा हुन्छन।खुशीमा साटिएका सपनाहरु आँशुमा पनि उस्तै प्रिय लाग्छन।सपनाहरु दोषी हुन्नन ।असफलतामा देखेका सपनाहरु सफलतामा अझै रमाउँछन।अनि ती निर्दोष साझा सपनाहरु सबथोक बिर्साएर रहर बनेर उभिन्छन आँखाहरुमा।मान्छे तिनै सपनाहरुको घाम उदाएको देख्दा सिँङ्गो संसार उज्यालो सम्झिन्छ,रंगीन मान्छ।उत्सब मनाउँछ मान्छे।त्यही सपनाहरुलाई मिठो ठान्छ,अनि त जीबनभर उहि सपनाहरुको मायामा भौतारिन्छ।त्यही निस्वार्थ प्रेमले टाढाबाट सुम्सुम्याईरहेका प्रिय सपनाहरुको घाम उदाएको क्षितिज देख्दा खुशीले मात्तिदै फेरि अर्कोपटक रहर गरेरै चिच्याउछ मान्छे- शुभयात्रा,प्रिय सपनाहरु,शुभयात्रा!

उस्तै पहाड बोक्छन मान्छेहरु,सपनाहरु सजाएर जहाज चढ्दा।उस्तै सपनाहरु बोक्छन मान्छेहरु पहाडले थिचेर जहाजभित्र उभिदा।जहाजजत्रै पडाड बोक्छन मान्छेहरु,जहाजभित्र।हामी त्यही पहाड बोक्ने मान्छे हौं,सबथोक बोक्छौ,रिणको पहाड,थुप्रैका सपनाहरुको पहाड,यादहरुको पहाड,प्रेम,आशा र ईखको पहाड अनि रहरहरुको पहाड।थुप्रै पहाड बोकेर हिडेका हामी जहाज चढेपछी अझै दु:खका पहाडहरु थप्छौ अनि आकाश हेरेर सपनाहरुको जोडघटाउ गर्छौ।

आखिर सबथोक बोकेर हिडेपनी रित्तोजस्तै मान्छे।बारम्बार जोडघटाउ गरेर पनि हिसाब नमिलेको मान्छे।भरिदै रित्तिदै गरेका चुहिएका माटे गाग्रीजस्तै माटे पिण्डहरु बोकेर परदेशमा भौतारिदा प्वाट्ट नफुटेको ज्यान।घर छाडेपछीका शुन्यताहरुले पुरै रित्तिएको मन।चुपचाप टोलाईरहेका रहरहरु।जुरुक्क अघिल्तिर ठडिएको रिणको पहाड।गिज्याईरहने सपनाहरु।झस्क्याईरहने यादहरु।आँसुमा बदलिएका प्रेमहरु।त्यही सपनाहरुको खोजीमा लगातार हतार गर्दै दौडिरहेका मान्छेहरु।त्यही हतारमा फेरि अर्को मान्छे थपिदैंछ पहाडहरु बोकेर,पहाड थप्न।उसो त दिनहुँ थुप्रै थपिन्छन मान्छेहरु।सप्पै जहाजहरु सपनाहरु सजाएर ल्याउछन,सपनाहरु भत्क्याएर लैजान्छन,रहरहरु भरिएर आउछन,रित्याएर फर्किन्छन।तैपनी मान्छे हरेक समय र अबस्थालाई स्विकार्छ।आखिर जाने र आउनेहरुकै भीडभाड छ।जादा र आउँदामा धेरै परिवर्तन छ मन।त्यही भीडहरुमा उस्तै सपनाहरु सजाएर फेरि अर्को मान्छे जहाज चढेर आउँदैछ-शुभयात्रा।
हरेक बिहान सबेरै जहाज आउँछन,जान्छन।झ्याल खुलेर निदाउँदाको रात कानैमा गुन्जिएर उड्छन।अनि त लाग्छ यी जहाजहरु किन बनाईएका छन?जहाजहरु नभैदिएको भए,यी उड्ने सपनाहरु हुन्नथे।उड्ने सपनाहरु नहुँदो हो त मान्छे कत्ती खुशी हुँदो हो,कम्तीमा आनन्दसँग त निदाउँदो हो।उहीँ गाउँघरका सपनाहरुसँग जीबन साट्दै मान्छे खुब रमाउँदो हो मान्छेसँगसँग।तर मान्छे मान्छेसंगको त्यो रमाईलो र खुशी,जाबो भिडियो च्याट्ले कसरी मेटिन्छ र?मान्छे मान्छेसँगको साथ र प्रेम बर्षौसम्म छुटिदा यादहरुको गोदाममा कसरी प्रिय हुन्छन होला?तैपनी मान्छे स्विकार्छ सबथोक जित्ने बहानामा।प्राय सधै भताभुङ्ग सपनाहरु र अनिँदो बिहानलाई झस्क्याईरहन्छन जहाजहरु।सवथोक जित्ने रहरमा जहाज उस्तै कुईकिन्छन दिनहुँ अनि सुईकिन्छन थुप्रै मान्छेहरु जहाज चढेर।एउटा मान्छे त्यही जहाज चढेको समय सम्झेर खिस्स हाँस्दै यसपालीका सपनाहरुको पालो सम्झिन्छ-शुभयात्रा!
सपनाहरु जत्ती पूरा हुदैंछन उत्ति थपिन्छन पनि।जति प्यारा लाग्छन उति पराई पनि।जति सजिलै देखिन्छन,उत्ति कठिनाइ पनि।कति त आफ्नै जस्तो लाग्ने अरुकै सपनाहरु।सपनाहरु प्रिय लाग्न आफ्नै हुनुपर्छ भन्ने होइन रहेछ।अरुकै सपनाहरुमा पनि रमाउँछ मान्छे।मान्छे त्यही सपनाहरुमा

खुशी खोज्छ,सिङ्गो जीवन खोज्छ।जीवन भेटिन्छ वा भेटिन्न तर बाँच्ने आशा भेटिन्छ।खुशी रहिरहन्छ वा रहन्न तर मुस्कुराउने मिठो बहाना भेटिन्छ,जीवन त्यही बाचुन्जेललाई त रहेछ।त्यही बाचुन्जेलको यात्रामा मान्छे धुमधाम हतारमा छ।जीवन एक बहाना त रहेछ।एक मुठी श्वास छउन्जेल बाँच्नुको हतारले मान्छे मेसिनजस्तै यान्त्रिक बनिरहेछ।हामी त्यही संसारमा सपनाहरु देखेर बस्छौ।त्यही सपनाहरुलाई मान्छे शुभयात्रा लेखिरहेछ।
सपनाहरु पूरा हुँदाको रात मान्छे सबथोक भुल्नुपर्छ।बिगत भुल्नैपर्छ,बिगतका दुःखहरुपनी।प्राप्तीले दु:ख बिर्साउछ।त्यही समयप्रती लिप्त हुनुपर्छ।त्यही सपनाको रंगीन बगैंचामा डुल्नुपर्छ।त्यही प्राप्तीलाई चुम्नुपर्छ।लामो संघर्ष र समयपछिको प्राप्तीलाई मान्छे बिजय ठान्छ।सपनाहरुले जित्नुपर्छ सधै।यसपाली जितेको छ मान्छे किनकी सपनाहरु जहाज चढ्दैछन,सपनाहरु सागर तरिरहेछन।पहाड बोकेर पहाडभन्दा माथीमाथी उडिरहेछन।देश छाड्नु पनि बिजय,परिवार छाड्नु पनि सपना,जहाज चढ्नुपनी रहर।यी सबैको मीठो समिश्रण।यसपालि त्यहि मान्छेको पालो आईरहेछ।।थुप्रै मान्छेहरु यसै गर्छन।सप्पै प्रक्रिया पूरा हुदैंछन।बिदाईका हातहरु हल्लिदैछन,बिछोडका आँशुहरु झर्दैछन,सपनाहरुको प्राप्तीमा खुशीले रुनुपर्ने दिन आउँदैछ।जिन्दगीको गोरेटो फराकिलो बन्दैछ।परदेशको एउटा शहरमा सपनाहरुको सम्भावना रोपेर खेतीको शुरूवात हुदैछ।आशाहरु थपिदैं जानेछन।रहरहरु ह्वात्तै बढ्नेछन।एउटा मान्छे चुपचाप सपनाहरुको खुशी देखेर थुप्रै बाँच्ने आयु माग्छ।हरेक दिनहरुले नयाँ उत्साह थपेर ल्याउँछन।यादहरु थपिन्छन,मान्छे लगातार मुस्कुराईरहन्छ,सपनाहरु पूरा हुदैंछन।मन त्यसै चङ्गा छ उडेजस्तै।भुर्‍र जहाज उड्दैछ,मान्छे उहीँ दोहोर्‍याउदैछ-शुभयात्रा।
उज्ज्वल भबिष्यको शुभकामना मान्छे।त्यही सपनाहरुको आकाशमा प्राप्तीहरु अझै थपिनेछन।मान्छेहरु सपनाहरुको त्यही आकाश हेरेर मुस्कुराउनेछन,त्यो आकाश सधैभरी मुस्कुराईरहनेछ-
शुभयात्रा!!

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु