पोर्चुगलमा ऎसेलु टिप्नेहरुको कथा।

phurban
लिस्बोन सुनसान देखिदैछ।चोक,पार्कतिर हल्ला गर्दै बसेका नेपालीहरु यतिबेला देखिदैनन।खेतीमा सिजन शुरु भएको छ।भालेपार्क र घोडाचोकहरु चुपचाप लाग्छन हाम्रो उपस्थित बिना।नयाँ फाट्फुट्टे मिल्दाजुल्दा अनुहारहरु बाटोमा ठोकिन्छन।काममा जानेआउनेको हतारोले भेटिएकाहरुसंग खासै मतलब हुन्न।उस्तै हतारमा म मेट्रोतिर हुत्तिन्छु।पोर्तुगलमा यहीँ मेट्रो अचम्म लागिरहन्छ।जमिनमुनी पस्दा सधै म भित्ता भित्ता हेरेर जिल खाएको हुन्छु।मेट्रो आफ्नै गतिमा अघिल्तिर आएर रोकिन्छ।मलाई बस स्टेशन पुग्नुछ अनि बस चढेर फारो जानु छ।
सेतेरेईज वसपार्कमा मान्छेको खुब भीड हुन्छ।सधै सानो,ब्यस्त र ब्यबस्थित लाग्छ यो बसपार्क।छुटिने र भेटिनेहरुले खुब अंकमाल गर्छन।पालो पर्खिएर टिकट किनेपछी साझको बस हुईकिन्छ।बसभित्र केहि नेपालीहरु भेटिन्छ्न।आफ्नै कम्पनी छ भन्नेदेखी काम खोज्दै हिडेकाहरु पनि।कम्पनी हुनेवाला फोनमा खुब ब्यस्त देखिन्छन।फारो हिडेको मान्छेले कुनै फोनमा लिस्बोन आँउदैछु भन्छ त कतिबेला लिस्बोनमै छु पर्सि फारो आउँछु भन्छ।बोल्न खुबै सिपालु।पोर्तुगिज,हिन्दी,अंग्रेजी,नेपाली सप्पै भाषामा लय मिलाएर गफिने।फुर्सदमा मसंग ईमान्दारीताको गफ जोत्दै।मलाई उ नेपालका बिदेश पठाउने मान्छेहरुभन्दा पनि खतरा लाग्यो।तैपनी बाटो काट्न गफिए।यहाँ पनि यस्ता फटाहा मान्छेहरु रैछन भनेर नानाभाती सोचें।
समुन्द्र छिचोलेर बनाईएको लामो पुल।पुलमाथीकै १८ किलोमिटरको यात्रा लगभग १८ मिनेट।पारी पुगेपछी होचा रुखहरुको जंगल,राता सेता घरहरुको बस्ती,चिल्लो सडक,बाटोभरी देखिने तरकारी र फलफुलका बगैंचाहरु।गाउँ साच्चै गाँउजस्तो।बरु बाटोमा खाजा खान रोकिएका नौबिसे र धार्केका जस्ता एक्ला,महँगा र मनपरीवाला रेस्टुरेन्टहरु।करिब चार घन्टाको यात्रापछी फारो आईपुग्यो।
“यता केही समस्या परे मलाई सम्झिनुहोला प्लिज-“खेतीसाहुको बिदाइका शब्दहरु।
भिजिटिङ कार्ड थम्याएपछी उ बाटो लाग्यो।बिदाईका शब्दहरुले यो मनलाई उ असल पो थियो कि भनेर बादबिबाद गरायो।
रातको १० बजे कम्पनीको गाडी लिन आईपुग्यो।ठ्याक्कै काठमाण्डौका थोत्रा माईक्रोहरुजस्तै।यौटा प्लास्टिकको ठुलो झोलामा सिरक र सिरानी।अर्को एउटा कपडाहरु खाँजेको लगेज।गाडी फारो बजारमा हुईकिदै यौटा साघुरो घरमा रोकियो।ढोकाछेउबाटै जुत्ताको गन्धले स्पर्श गरायो।घरभित्र छिरेपछी खानाको मिठो गन्ध नाकमा ठोकियो।रातको दश नाँघ्दै गर्दा भोकले कराएको पेट खुशी भयो।बाटोको महँगो पाउरोटीले तर्सिएको ज्यानमा आशा थपियो।साघुँरो भान्सामा कोहि पकाउदै,कोहि खादै,कोहि भोलीको खानाको तयारी गर्दै।एक टेवल,दुई कुर्ची र एउटा फ्रीज बल्लबल्ल अटाएको।किचनका मान्छेहरु त जबर्जस्त अटाएका,काठमाडौंका माईक्रोहरुमा झै।
भोकले ध्यान किचनमै कुद्द्यो।सप्पैले हेरे तर कसैले वास्ता गरेनन।खानेहरुले खाईसके,पकाउनेहरुले चामल थपेनन्।सोधेनन पनि।हेर्दाहेर्दै किचन सुनसान हुँदै थियो।अनि त आफै खानाको लागी सोधखोज गरे।जिन्दगीमा भोक र भोजनको संघर्ष त्यहि समय सम्झनलायक बनेर मनभित्र बसेको छ।
एउटा फ्ल्याट,करिब १२,१४ जनाको भद्रगोल बसाई।सप्पै नेपाली।छुट्टाछुट्टै समुह र काम।कामबाट थाकेर आएका मान्छेहरु।भोलि बिहान फेरि सबेरै काममा पुग्नुपर्ने बाध्यताले निदाउन हतार गर्नुछ सबैलाई।पहिलो रातको त्यो समय म यस्तै बुझे।।
सुत्ने कोठामा पुग्दा खाईवरी पल्टेर ननिदाएका दुई जना नेपालीहरुले ब्ल्याङ्केटभित्र लुकाएको टाउको उठाए।
कार्ड भयो?- अर्को एउटा प्रश्न थपियो।
ह्जुर भैसक्यो- म उत्तर खसाल्न नपाउदै उ झोक्कियो।
कार्ड भएको मान्छे किन खेतीमा?
परदेश लागेपछी बुझेको कुरो काम सानो र ठुलो हुदैन भन्ने हो।तर उनका जिज्ञासाले अलमल्ल परे।
सर!शहरतिर काम गर्दागर्दै बोरिङ भो अनि यता आएको-म उम्किन खोजे।
अर्को फेरी बोल्यो- यस्तो झुर कम्पनीमा?
म थप जिज्ञासु भए-कस्तो छ र?
पहिलो बोल्यो- बिस्तारै बुझ्नुहुन्छ,नेपालीहरुको कम्पनी।
उनीहरुसंग पहिलो रात कुरो मिलेन।गफैगफमा म ओछ्यान मिलाएर पल्टिसकेको थिए।
नेपाली कम्पनीहरु के साच्चै झुर छन त?मलाई जिज्ञासा थपियो।बाटोमा भेटिएको खेती साहुका झुट गफहरु सम्झना आए।जे सुकै होस् जाबो एक महिना यहि झुर कम्पनीमा बसिन्छ।हजारौं नेपालीहरुले नेपाली कम्पनीप्रती भरोसा राखेर आफ्नो श्रम र समय खर्चिरहेका छन भने म को हुँ र?त्यो रात मेरो दिमागले हजार कुरा खेलाएर यही निचोड निकाल्यो।पल्लो कोठामा कोहि रक्सीले मात्तिएर ल्याङल्याङ्ग गरिरहेकाहरु धेरैबेरसम्म निदाउन दिएनन।
भोलिपल्ट बिहान मोबाईलको आलारामले ब्युँझायो।बिहानको ५ बजे,अब काममा जाने समय भो।उठेर चर्पी बस्नेहरुको लाईन लाग्यो।एउटा चर्पी र १२,१५ जनाको पालो।पानीका बोतल र खानाका टिफिनहरु बोकेर कोहि निस्किदै थिए।म त्यो दिन रित्तै हिडें।
गाडी डरलाग्दो गतिमा कुदयो।गाडीभित्र कोचाकोच मान्छेहरुको पसिनाको गन्धले पहिलो बिहान छटपटी भो। बिहानको साढे छ बज्दा एसेलु बारीमा पुर्‍याएर गाडी फर्कियो।अब साढे १ घण्टा पर्खिएर एसेलु टिप्नु छ।गेटमा मान्छेहरु थपिदै छन।गाडी फेरि आयो,उस्तै मान्छेहरु बोकेर।गाडी फेरि गयो उस्तै मान्छेहरु लिन।तीन घण्टा लगातार मान्छे बोकिरहने त्यो गाडी साँझ फेरि त्यसै गर्नेछ।करिब २ सय मान्छेहरु गेटभित्र छिर्दा बिहानको आठ बज्यो।
पहिलो दिन सोच्दै नसोचेको रमाईलो लाग्छ र लाग्यो।ऎसेलु खेती र त्यसको ब्यबस्थापन देख्दा हेरेको हेर्यै भए।ऎसेलु टिप्ने तरिकाको बारेमा २ घण्टाको थ्योरी क्लास भो।जोश ह्वात्तै बढेर आयो।एउटा ३ पाङ्ग्रे ठेला गुड्क्याउदै ऎसेलु बारीभित्र पसें। आसपासमा ऎसेलु टिपिरहेकाहरुले हतारले हेरेझै गरे।दाँयाबाँया लटरम्म पाकेका ऎसेलु झाडीको बीचबीचमा खाली बाटो,बाटोमा ओछ्याईएको सुकिलो रातो कार्पेट,मेरो ३ पाङ्ग्रे त्यही एउटा पङ्तीमा रोकियो।दिमागमा उहीँ नेपालका जंगलतिर ऎसेलु टिपेर सालको पातमा पोको पारेर घर ल्याएको सम्झना आयो।काँडाले उस्तै हात रक्ताम्य बनाउला भन्ने पीर पनि हरायो।अप्ठ्यारोमा अग्लो झाङ होला भन्ने अनुमान पनि फेल खायो।घामले डढेर उत्पात कालो हुन्छु कि भन्ने पीर पनि भाग्यो।
अब प्लास्टिकका ससाना डब्बाहरुमा ऎसुलु टिप्न शुरूवात गरियो।कम्तीमा घन्टाको तीन केजी,आठ घण्टामा २४ केजी टिप्नैपर्ने नियम सुनेपछी ज्यान थप कस्सियो।बीचमा एक घन्टा खाना खाने समय,अर्को १५ मिनेट चुरोट्सुरोट खाने समय। पहिल्यै दिन २ घण्टा ओभरटाईम थपियो,साझ सात बजेसम्म।ऎसेलु जसरी नि सिध्याउनै पर्ने।लगातार प्लास्टिकका भाँडाहरु भरिए,थपिए। हात लगातार दायाँ,बायाँ,ज्यान लगातार तल,माथी नयाँ कामको पहिलो दिन बितेको पत्तै भएन।साँझको थकान र दुखेको ज्यानको पीडा बेग्लै महशुस गर्दै थिए।
बिहान चाडै आएर गेट कुरेकाहरु साँझ चाडै फर्किन्छन।चाँडै फर्केकाहरु घरमा गएर खाना पकाउँदै गर्छन।बाँकी मान्छेहरु बिहानजस्तै पालो पर्खेर बस्छन।पहिलो दिन म चाडैं फर्किदैछु।


तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु