बिग्रेको एनआरएन र बिग्रेका हामी – फुर्वान रायमाझि

nrn गैरआवासीय नेपाली संघको आबश्यकता छ तर यसको बिकल्प छैन।बिकल्प नभएको सामाजिक छाता र साझा संगठन अन्धाधुन्ध पाराले चलेको छ।उस्तै भद्रगोल संगठन र आर्थिक हिनामिनाका बिषयहरु चर्चामा आईरहन्छन।अधिवेशनको समय पद ओगेट्न आर्थिक सहयोगका कार्यक्रमहरुमा लाखौं बोलबोलाई हुन्छ तर अधिवेशनपछी पैसो उठ्दैन्।गुट उपगुटका बेग्लाबेग्लै निर्णय र बिषयहरुले फेसबुकमा जुहारी चल्छन।मेला र पर्वको आयोजना गरेर मानव तस्कर गर्नेहरुको चर्चा हुन्छ।भुकम्प पिडितको नाममा उठाएको रकमले बिदेशमै ब्यबसाय थपिन्छ,कतै घर किनिन्छ,कतै गाडी।राजनिती हावी हुन्छ,मुक्का हानाहान हुन्छ,कालो झन्डा देखाएर नाराबाजी हुन्छ,झुटा भाषण हुन्छ,बडेबडे आश्वासन हुन्छ,घोषणापत्र मात्रै घोषणामा सिमित हुन्छ,भोट तानातान हुन्छ,भोट किनबेच हुन्छ,डर हुन्छ,आतंक हुन्छ,धम्की हुन्छ,लौराभाटा प्रदर्शन हुन्छ।
सम्मान,भाषण,आसन र खादाको लोभले थुक निल्नेहरुको समूहले एक समय फुर्तीफार्ती गर्छ।राजनैतिक भर्ती केन्द्र,भागबण्डे पद,जातिय,क्षेत्रीय,भेगिय,पार्टीगत राजनितीको राजनितीमा नकारात्मक सन्देश प्रवाह गर्दै नेतृत्व गरेर नेपाली,नेपाली बीच बैमनश्यता उत्पन्न गराउने वा गराईरहेका अगुवाहरुले शक्ति प्रदर्शन र प्रतिस्पर्धा गर्ने,गराउने समय आउँछ।सित्तैमा एनआरएनको सदस्यता फारम भरिदिएर आफ्नै खल्तीबाट मूल्य तिर्दै फाराममा शक्ति प्रदर्शन गर्नेहरुको अहमता चुलिन्छ।आफ्नो स्वार्थका लागि आफ्ना मान्छेहरु भर्ती गरेर सिङ्गो पबित्र संस्थालाई धमिलो बनाईएका अगुवाहरुले संस्थाप्रती लगातार उस्तै गिद्धे नजर लगाउछन।समाजको लागि केही दिन जाने संस्था हो,लिन होइन भन्नेसम्म नबुझेकाहरुको समुहले सिंन्कोसम्म भाच्ने नपर्ने संस्कारको थालनी गराईसकिएको भेटिन्छ एनआरएनमा।नेतृत्वका गल्तीहरु ढाकछोप गर्ने सदस्यहरु,गलतलाई गलत भनेर बोल्न नसक्नेहरु,राम्रोलाई राम्रो भनेर वकालत गर्न नसक्ने मानसिकता बोकेका मान्छेहरुको समुह काले काले मिलेर खाँउ भाले भन्दै उभिन्छन दाँयावाँया।त्यहिबेला एनआरएनको चर्चा हुन्छ,अधिवेशन आउँछ।
चोकहरुमा,मेट्रो,बस पर्खिने स्टेशनहरुमा उभिएर पदको फुर्ती गर्नेहरु हात मिलाएर गफ जोतिहाल्छन्।बिश्वब्यापी संजालको अभियान्ता वा सदस्य भएर जिम्मेवारी बहन गर्ने संकल्पलाई लात हान्दै राजनैतिक पार्टीका प्रबक्ता जस्ता भएका मान्छेहरु पार्टीको सदस्यता फाराम बोकेर सदस्य थप्न कुद्छन,फेसबुकमा राजनिती कुर्लिन्छन।अदृष्य शक्तिको प्रभाव देखिन्छ।स्वस्थ प्रतिस्पर्धा गर्न नसक्नेहरुको समूह संगठित हुन्छ।सामाजिक छबिको पगरी गुथेर ठग्ने,लुट्ने,मानव तस्कर गर्ने,धम्क्याउने र समाजमा लाजमर्दो कृयाकलापमा संलग्न भएकाहरुले सजिलै लाज पचाउँछन।कमाएको नाम र ईज्जतलाई सजिलै बेचेर कि दाम कुम्ल्याएकाहरु,कि बदनाम कमाएकाहरु फेरि कस्सिन्छन।त्यहिबेला एनआरएनको खुब चर्चा हुन्छ,अधिवेशन आउँछ।

एनआरएन अधिवेशनको बेला राजनैतिक पार्टीमा प्रबेश गर्नेहरुको भिडभाड हुन्छ।अघिपछी स्वतन्त्र बरिष्ठ साहित्यकार भन्दै हिड्नेहरु कुर्ची र पद मिल्दा राजनैतिक पार्टीको टिको लगाउँछन।अरुबेला स्वतन्त्र पत्रकार भन्दै हिडेकाहरु पदको लोभमा गुट र पार्टीको कलम चलाउँछन।अघिपछि ब्यबसायी,समाजसेवी,कलाकार,खेलाडी,श्रमिक भएर चिनिएकाहरु काङ्ग्रेस,एमाले,माओबादी,राप्रपा,फोरम आदि भन्दै आपसमा घम्साघम्सी गर्छन।टोलटोलमा सम्मेलन हुन्छ।मान्छेहरुको भाग लगाईन्छ।भेगिय,क्षेत्रीय,जातिय संस्थाहरु बनभोज खान निस्किन्छन।भोज र भोटको तालमेल मिलाईन्छ।सहमती,गुट र भागबन्डामा जोडघटाउ चल्छ अनि भाषण घन्किन्छ।आलोपालो आ-आफ्नो शक्ति प्रदर्शन हुन्छ।तामझाम र तछाडमछाड गरेर आफ्नो बनावटी लोकप्रियताको नाटक मन्चन गरिन्छ।आफ्ना पहुँचका मिडियाहरुमा लोकप्रियता छापिन्छ र बधाईको अर्को शृङ्खला शुरु हुन्छ।त्यहिबेला एनआरएनको झनै चर्चा हुन्छ,अधिवेशन आउँछ।

आखिर यो एनआरएन भन्ने संस्थाले अधिवेशनको बेला हरेक राष्ट्रका नेपालीहरुमा राजनैतिक तरंग र आतंक ल्याउंछ,केहि पुँजीपती ब्यक्तिहरुमा उमङ्ग ल्याउँछ।शक्ति र कुर्चीको माहोल ल्याउँछ।पैसाको प्रदर्शन गराउँछ।धनी र गरिव बीचको असमानता र शक्ति देखाउँछ अनि त निस्वार्थ सामाजिक काम गर्न चाहने ब्यक्तिहरु छाँयामा धकेलिन्छन।सामाजिक दायित्व र कर्तव्यबाट उम्किएको महशुस गर्छन।यसरी समाजको लागि सकारात्मक योगदान दिएका ब्यक्तिहरु पाखा लगाईन्छन।नेपाल र नेपालीको सहयोग र हितको लागि के कस्ता कार्यक्रमहरु गर्नुपर्छ भन्ने बिषय नै गायव हुन्छ।पैसा र राजनैतिक पार्टीबिनाका स्वतन्त्र मान्छेहरु सबल मान्छेजस्ता लाग्दैनन्।असक्षम मान्छेहरुको नेतृत्वमा संस्था पुग्छ।असक्षम ब्यक्तिहरुको नेतृत्व,कार्य र ब्यबहारले समाजमा झन समस्याहरु थपिन्छन,बिबादहरु चुलिन्छन्।संस्थाप्रतिको बिश्वास र साथ गुम्दै जान्छ।
अझै मानवीय संबेदना गुमाएका नेतृत्वहरु भेटिन्छन।शोकसभा वा मलामी जाँदा मृतकसँग सेल्फी खिचेर दर्जनौ तस्बीरहरु फेसबुकमा राख्छन,मानौं कुनै फिल्मको सुटिङ हुँदैछ।मृतकका आफन्तहरु,आफन्त गुमाउँदाको पिडाले छटपटाउदै रोइरहेको समय,परिवेशमा मान्छेहरु कसरी मोवाईल निकालेर भटाभट सेल्फी खिच्न सक्छन होला?सामाजिक ब्यक्ति भनेर परिचय खोज्ने र दिनेहर आगामी अधिवेशनमा सचेत हुन जरुरी छ। बिग्रेको एनआरएन र बिग्रेका हामी सच्चिन आबश्यक छ।यदि कसैको लागी केहि गर्न नसक्ने स्थितीमा संस्था पुग्यो भने संस्था किन चाहियो?तसर्थ संस्था समाजका लागी हुनुपर्छ।नेतृत्व गर्न सक्नेहरुले,आँट्नेहरुले त्याग गर्न पनि सक्नुपर्छ।राजनैतिक भागबण्डे प्रक्रिया गलत बन्दैछ।सामाजिक संस्थाहरुलाई भागबण्डे राजनितीभन्दा बाहिर राख्दा संस्था र सदस्यहरुको इज्जत बढ्नेछ।चुनावमा हार्ने डरले भागबण्डामा जतापनी चित्त बुझाउने गलत संस्कारको बिकास भएको छ।तसर्थ बिग्रेको,बिगारिएको एनआरएन हामी सबै सच्चिए मात्रै सच्चिएला नत्र निरन्तर पैसाको पछि कुद्नेहरुसँग मात्रै कुदिरहनेछ संस्था,संस्था यसरी जती रफ्तारमा कुदिरहन्छ, समाज उत्ति पछाडी धकेलिनेछ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु